जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द

ओकेखबर संवाददाता ३० जेष्ठ २०८१, बुधबार ०८:०४ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

अछाम । जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिंडाउँदा आइतवार पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको पुलमा आवागमन बन्द गरिएको हो ।

पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।

विद्यार्थी पनि समस्यामा परेका छन् । प्राविधिक जाँच, मूल्याङ्कन एवम् परीक्षण नगरी यो पुलबाट मानिसको आवतजावत जोखिम भएकाले तत्कालका लागि पुलको प्रयोगमा रोक लगाएको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

पुलमा आवतजावत बन्द भएपछि दैलेख र अछामका विद्यार्थी प्रभावित भएका छन् । अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रिनर्सरी स्कुलमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ ।

जीर्ण पुलको तत्काल मर्मत तथा झण्डै दुई सय मिटर हाराहारीमा रहेको अर्को पञ्चदेवल विनायक नगरपालिका–९ ओदल्ताडा र दैलेखको आठबीस नगरपालिका–४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल तत्काल निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

आइतवार खाद्यान्न बोकेका १४ खच्चड पुलमा फसेका थिए । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले १२ वटा खच्चडको जीवितै उद्धार गरेका थिए । दुई वटा खच्चड मरेका थिए ।


सम्बन्धित खबरहरु