आज सोमबारे औँसी, यस्तो छ महत्त्व र पूजा विधि

ओकेखबर संवाददाता २६ चैत्र २०८०, सोमबार ०८:४२ मा प्रकाशित ( हफ्ता अघि) ५५ पाठक संख्या

काठमाडौं । प्रत्येक महिनामा एउटा औँसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमबार । तर औँसी र सोमबारको संयोग यदाकदा मात्र हुन्छ । वर्षभरिमा एकपटक वा कहिलेकाहीँ दुई पटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औँसी पर्दछ ।

आज पनि सोमबारे औँसी परेको हो । यस दिन स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ । स्नानको लागि मात्र विभिन्न तीर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन् । हिन्दु धर्मावलम्बी अनुसार आजको दिन ‘सोमबारे औँसी’को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ । महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ ।

पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ ।

हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलिआएको छ । सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ ।

सोमबारे औँसीको पूजा विधि
यसदिन घरका पूर्वजहरूलाई तर्पण दिने गरिन्छ । उनीहरूलाई शुद्ध रूपमा घरमा तयार पारिएको खानेकुराबाट उनीहरूलाई सन्तुष्ट गराउँदा आशीर्वाद मिल्छ भन्ने विश्वास छ ।

यस दिन भोकानाङ्गालाई दिइने दानले विशेष महत्त्व राख्ने विश्वास गरिन्छ । यस दिन बिहानै उठेर कसैसँग पनि नबोली नुहाउने गरिन्छ । त्यसपछि विभिन्न मन्दिर र पिपलको रुखमा गएर पवित्र जल चढाउने गरिन्छ ।

अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गरिन्छ । कपासको सट्टा रातो रंगको धागो र केसर प्रयोग गर्नु राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिने मान्यता राखिन्छ ।


सम्बन्धित खबरहरु