परीक्षणका रूपमा शुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ पर्सि आइतवारदेखि नियमितरूपमा अघि बढ्ने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत विशेष अदालतले हेर्ने मुद्दाका पक्ष देशको जुनुसुकै ठाउँमा रहे पनि सुनुवाइका लागि काठमाण्डाै नै आउनुपर्ने बाध्यता छ । अब भने कानुन व्यवसायी तथा पक्षले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् । विशेष सरकारी वकिलको कार्यालयले पनि कार्यालयबाटै बहस गर्न सक्नेछ । एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ ।
विशेष अदालतले शुरु गरेको अनलाइन बहस ऐच्छिक हो । कानुन व्यवसायीले चाहेमा मात्रै अदालतले उनीहरूलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रियाअनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।