देशका अधिकांश भूभागमा आज पनि वर्षा

ओकेखबर संवाददाता ८ चैत्र २०८०, बिहीबार ०९:०३ मा प्रकाशित ( हफ्ता अघि) १३ पाठक संख्या

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी , मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भोलि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताए । “हिजो काठमाडौँमा दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।

महाशाखाको विवरण अनुसार हिजो काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको थियो। सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।

 


सम्बन्धित खबरहरु