तेह्रथुमको फेदापमा लागेको आगलागी नियन्त्रणमा : १७ वटा घर जले

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार ०९:०५ मा प्रकाशित ( साल अघि) ५२ पाठक संख्या
काठमाण्डौ – तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् । धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका गाउँपालिकाका अध्यक्ष भेटवालले बताउनुभयो ।

आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको पीडितले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिनुभयो ।

यसैगरी पाँचथरकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ । आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु