स्रष्टा भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवद्र्धनको मार्गचित्र

ओकेखबर संवाददाता २० माघ २०८०, शनिबार २१:०२ मा प्रकाशित ( महिना अघि) २८८ पाठक संख्या

काठमाडौं । कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन विकासका लागि एउटा दरिलो मार्गचित्र हुन सक्ने साहित्यकार एवम् समालोचकहरूले औंल्याएका छन् ।

शनिबार सार्वजनिक गरिएको कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज हुन सक्ने कुरा औंल्याइएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक सावित्री मल्ल कक्षपतिले यो कृति नीति निर्मातासम्म पुग्नुपर्ने बताइन् ।

कृतिमा जातीय एवम् भाषिक अध्ययनको मर्म समेत भेटिने बताउँदै कक्षपतिले ‘आकाश ओढेको डोल्पो’ जस्तै कृतिले आन्तरिक पर्यटन प्रवद्र्धन एवम् विकासमा महत्वपूर्ण टेवा पु¥याउने बताइन् । ‘पर्यटन व्यवसायीबाट सुनिन्छ, अचेल विदेशीले भन्दा आन्तरिक पर्यटकले बढी खर्च गर्छन्,’ उनले भनिन्, ‘यिनै पक्षलाई प्रवद्र्धन गर्न पनि खतिवडाको कृति हरेक विकास निर्माताले पढ्नुपर्छ । यो एउटा साहित्यिक वा नियात्राकृति मात्रै नरहेर डोल्पा जिल्लाको विकासको सपना देखाउने हरेकले पढ्नुपर्ने उनको भनाइ थियो ।

समालोचक कक्षपतिले भवानी खतिवडाले आउँदा दिनमा यस्तै र अझ सशक्त कृतिहरू सिर्जना गर्दै जानुपर्ने धारणा राखेकी थिइन् । भूमि, भूगोल, भाषा, धर्म, जीवनपद्धति र रहनसहनको समेत मिहिन उत्खनन् गरेर लेखिएको ‘आकाश ओढेको डोल्पो’ नियात्रा साहित्यमा फरक एवम् मौलिक खालको पहिचान राख्न सफल हुने उनको विश्लेषण थियो ।

कार्यक्रम सञ्चालन र संयोजनको भूमिका निर्वाह गरेका पर्वतीय साहित्य समाजका अध्यक्ष, हिमालका अध्येता तथा नियात्राकार प्रतीक ढकालले हिउँसँग खेल्न नडराउने जुझारु र हिम्मतिली नियत्राकारको रूपमा भवानीले आफ्नो पहिचान स्थापित गरिसकेको टिप्पणी गरे । ‘हिमालको धनी देशमा जन्मेर हामीले त्यसको मर्म बुझ्न सकेका छैनौं, अब त्यो अभियानमा लाग्नुपर्छ,’ उनले भने, ‘भवनी जस्ता धेरै महिला नियात्राकारले यस क्षेत्रमा कलम चलाउन जरुरी छ ।’

हिमाललाई ‘छुरी बोकेकी सुन्दरी’को उपमा दिँदै ढकालले हिमालमा हिँड्नु, त्यसकै कथा लेख्नु र त्यहाँको जनजीवन केलाउनु साँच्चै चुनौतीपूर्ण रहेको टिप्पणी गरे । खतिवडाले ‘आकाश ओढेको डोल्पो’मा त्यो चुनौताी आँकेको विश्लेषण गरेका थिए । हिमाल चिनेको दिन नेपालको विकासले शिखर चुम्न सक्ने पनि उनको धारणा थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले कृतिले नियात्राको उपल्लो चुली हिमाली क्षेत्रलाई समेटेर अगाडि बढेको र सर्जकबाट भविष्यमा यस्तै कृतिको अपेक्षा गरिएको बताए । सोही क्रममा खतिवडाकी छोरी आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ सार्वजनिक गरिएको थियो ।

भट्टराईको कृतिमाथि साहित्यकार अनिता कोइरालाले समीक्षात्मक मन्तव्य राखेकी थिइन् । उनले भट्टराई युवा हुन् तर उनको लेखनीमा अनुभवको ताउलोमा खारिएर उम्रिएका दर्शनका पङ्क्तिहरू भेट्न सकिने बताइन् । उनको कलममा समाज, परिवार र देशप्रतिको बेजोड प्रेम रहेको पनि उनको भनाइ थियो । नेपाली सभ्यता, संस्कृति, वैभव र हिमालप्रतिको उच्च श्रद्धा छ र आस्थालाई पढ्ने पाठकको हृदयमा पनि यी तमाम कुराको बीजारोपण गर्न सक्ने ल्याकत आस्थाको कृतिमा रहेको उनको विश्लेषण थियो ।

कार्यक्रममा गङ्गाधर अर्याल, अरुण अर्याल, नीमा डोमा, साहित्यकार पवन आलोक तथा रञ्जु दहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमोचन कार्यक्रममा सगरमाथा आरोही नीमा डोमाले पनि यी दुवै कृतिकारलाई सफलताको शुभकामना व्यक्त गरिन् । ‘आकाश ओढेको डोल्पो’ र ‘फूलबारीको जुके गणतन्त्र’ दुवै कृति पेज टर्नर प्रालिले प्रकाशन गरेको हो । जसकाे मूल्य क्रमशः ४५० रुपैयाँ र २९९ रुपैयाँ रहेकाे छ ।


सम्बन्धित खबरहरु