३५ फिट गहिरो इनारमा खसेका रामशरणको सकुशल उद्धार

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार ०८:३२ मा प्रकाशित ( महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्तीस्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो ।

 

घर धनीले खबर गर्ने बित्तिकै नगर प्रहरीले उनको उद्धार गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको हो ।

इनारनजिकको रुख काट्ने क्रममा सापकोटा इनारमा खस्न पुगेका थिए । इनारमा रहेको पाइपमा समाएर टाउको पानीमाथि निकालेको बसेको र नगर प्रहरी तत्काल घटनास्थल पुगेकोले उनको जीवितै उद्धार सम्भव भएको प्रमुख हाछेथुको भनाई छ ।

उद्धार लगत्तै सापकोटालाई पाटन अस्पताल लगिएकोमा खतरामुक्त रहेकोले उनको डिस्चार्ज भइसकेको छ । ललितपुरमा कुनै समस्या परेमा तथा उद्धारको आवश्यकता परेमा तत्काल नगर प्रहरीलाई ११३१ मा सोझै सम्पर्क गर्न पनि हाछेथुले आग्रह गरे ।


सम्बन्धित खबरहरु