स्थायी बसोबास गर्ने गरी बिदेसिए ७१ हजार नेपाली

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार ०९:५३ मा प्रकाशित ( महिना अघि) ८९ पाठक संख्या

काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो ।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणानुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला छन् । यसमा सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा जानेको छ ।

२०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष सात लाख २३ हजार ७८९ र महिला ८४ हजार ६०४ छन् । वैदेशिक रोजगारपछि दोस्रो ठूलो संख्या भिजिट भिसामा जानेहरूको छ । २०२३ मा दुई लाख चार हजार ५१८ नेपाली भिजिट भिसामा विभिन्न देश गएका विभागले जनाएको छ । भिजिट भिसामा विदेश जाने नेपालीमा एक लाख ३० हजार ९२६ पुरुष र ७३ हजार ५७५ महिला छन् ।

यसमा तेस्रो ठूलो संख्या विदेशमा रहेका आफन्त/परिवार भेट्न जानेहरूको छ । २०२३ मा एक लाख ६७ हजार ४८५ नेपाली आफन्त/परिवार भेट्ने उद्देश्यले विदेश गएका छन् । आफन्त परिवार भेट्न गएका मध्ये ७० हजार ८०८ पुरुष र ९६ हजार ६७७ महिला छन् । गत वर्ष अध्ययन गर्ने उद्देश्यले एक लाख आठ हजार ५४२ नेपाली विदेश गएका छन् । यीमध्ये ५९ हजार ९७८ पुरुष र ४८ हजार ५६२ महिला छन् ।

 

स्थायी बसोवास गर्ने गरी बिदेसिए ७१ हजार नेपाली
सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेसिएका छन् । स्थायी बसोवासका लागि विदेश जानेमा ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१ महिला छन् ।

यस अवधिमा देश छाड्ने नेपालीको संख्या १६ लाख तीन हजार आठ सय ३६ छ । जसको ४.४२ प्रतिशत नेपाली स्थायी बसोवास गर्ने उद्देश्यले बाहिरिएका हुन् । खाडी मुलुकबाहेक युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देश जाने नेपालीको मूल उद्देश्य नै स्थायी बसोवासका लागि हुने गरेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । यसमा डाइभर्सिटी भिसा (डिभी) परेर, ग्रिनकार्ड लिएर र स्थायी आवासको अनुमति (पिआर) लिएर बाहिरिने गरेको उनको भनाइ छ । ‘पर्यटन, अध्ययन जे भने पनि यताबाट गएका नेपाली नागरिक उता गएपछि स्थायी बसोवासका लागि पहल गर्ने गरेका छन् । खाडी मुलुक जाने नेपाली मात्रै फर्किने गर्छन्,’ उनले भने ।

सोही अवधि अस्थायी आवासको उद्देश्यले विदेश जाने नेपालीको संख्या ९२ हजार ३४९ छ । यसरी जानेमा ५१ हजार ८७६ पुरुष र ४० हजार ४६८ महिला छन् । वर्ष २०२३ मा स्थायी बसोबासको उद्देश्यले विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ छ । यीमध्ये ३६ हजार ६६३ पुरुष र ३४ हजार २५१ महिला छन् । पेन्डेन्ट भिसामा २०२३ मा २० हजार ६१३ नेपाली विदेश गएका छन् । डिपेन्डेन्ट भिसामा गएका मध्ये आठ हजार ८६ पुरुष र १२ हजार ५२७ महिला छन् ।


सम्बन्धित खबरहरु