१४ किलो सुन तस्करी प्रकरण : ८ जनालाई थुनामा पठाउन आदेश

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार ०७:४४ मा प्रकाशित ( महिना अघि) ६५ पाठक संख्या

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश शङ्करबहादुर राईको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन्।

जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालतले आइतबार उनीहरूलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाउने आदेश गरेको हो। यो सँगै उनीहरूलाई कारागार चलान गरिएको छ।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करीबारे खुलेको थियो। विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ।

पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने धनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन्। यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पुर्‍याइदिने कर्मचारी पनि जेल चलान भएका छन्। विमानस्थलका कर्मचारीहरू राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन्।

उनीहरू नागरिक उड्ययन प्राधिकरणअन्तर्गतका कर्मचारी हुन्। उनीहरूले धनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी गरेको आरोप छ।

सुन तस्करीमा नाम जोडिएका र बयान पोलेका अंकित अग्रवाल, राजेन्द्र बस्नेत, बिमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरूको एकिन नाम, थर, वतन र कसुर खुलेका बखत पेस गरिने भएको छ।


सम्बन्धित खबरहरु