सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु, मृतकको शव ३ दिनदेखि सडकमै

ओकेखबर संवाददाता २२ पुष २०८०, आईतवार १३:४९ मा प्रकाशित ( महिना अघि) ५९ पाठक संख्या

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।

नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएको शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शनिवार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो । तर स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतवार फेरि कर्फ्यु आदेश जारी गरेको हो । आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि सोमवार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रवार भएको झडपमा बरहथवा–५ का जयशंकर शाहको ज्यान गएको थियो । उहाँको शव अझै सडकमै रहेको छ । स्थानीयले आफूहरूको माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन् ।

हिजो गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न समिति गठन गर्नुका साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै प्रदर्शनलाई जारी राखेका छन् । उनीहरूले गोली चलाउने प्रहरीलाई कारबाहीको माग गरेका छन् । त्यस्तै बरहथवाका मेयरले राजीनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाउनुपर्ने र अस्पतालको नाम जयशंकरको नामबाट राख्नुपर्ने माग गरेका छन् । त्यसैगरी मृतकलाई शहीद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको शालिक निर्माण गर्नुपर्ने, इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० गंगाबहादुर थापालाई तत्काल निलम्बन गर्नुपर्ने माग राखेका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सर्वदलीय बैठकबाट समस्याको निकास खोज्न पहल भइरहेको बताउनुभयो । गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दारलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले बताए ।


सम्बन्धित खबरहरु