कर्फ्युपछि सर्लाहीको बरहथवा बजार क्षेत्र सुनसान : सुरक्षा संयन्त्रको बैठक बस्दै

ओकेखबर संवाददाता २१ पुष २०८०, शनिबार ०७:५७ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं। सर्लाहीको बरहथवा बजार क्षेत्र आज सुनसान छ । आज बिहान ८ बजेसम्मका लागि लगाएको कर्फ्यु कायमै छ ।

पछिल्लो अवस्थाको आकलन गरी थप निर्णय गर्न अहिले सुरक्षा संयन्त्रको बैठक बस्न लागेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताउनुभयो । हिजो तनाव भएको ठाउँमा प्रहरी खटिएका छन् ।

स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गरी भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षका जयशंकर साहको ज्यान गएको थियो । लगत्तै हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।

स्थानीय बासिन्दाले मृतकको शवसहित हिजो प्रदर्शन गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान हुने बताउनुभएको छ ।


सम्बन्धित खबरहरु