केएमसी अस्पतालमा चिकित्सक र सुरक्षाकर्मीबीच झडप

ओकेखबर संवाददाता १९ पुष २०८०, बिहीबार ११:१० मा प्रकाशित ( महिना अघि) १०१ पाठक संख्या

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ। झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् ।

निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो। त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ ।

केएमसी प्रशासनले डा. दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाका निम्ति निलम्बनको पत्र दिएको थियो ।

काठमाडौं विश्वविद्यालय (केयू)ले चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर, केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनील शर्माले डा. दाहाललाई केयू नै फिर्ता पठाउने प्रतिक्रिया दिँदै आएका छन् ।


सम्बन्धित खबरहरु