कोल्बुङ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३३ घाइते

ओकेखबर संवाददाता ४ मंसिर २०८०, सोमबार १३:५० मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लामाको आइतबारै र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। दुर्घटनामा आइतबार साँझ वडा नं –९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। बस दुर्घटनामा मृत्यु हुनेका सङ्ख्या तीन पुगेको उनले बताए।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये तीन जनाको मत्यु भइसकेको छ भने ३३ जनाको हाल बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था पनि चिन्ताजनक छ। उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ।


सम्बन्धित खबरहरु