जुवातास खेल्ने १ सय ६५ जना पक्राउ, ३४ लाख रुपैयाँ बरामद

ओकेखबर संवाददाता १ मंसिर २०८०, शुक्रबार ०७:४९ मा प्रकाशित ( साल अघि) ५७ पाठक संख्या

काठमाडौं । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा प्रहरीले एक सय ६५ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ रुपैयाँ बरामद गरेको छ ।

यही कात्तिक ११ गतेदेखि आज बिहीवार बिहानसम्म काठमाण्डौका १३, ललितपुरका चार र भक्तपुरका दुई ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रक्राउ गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, २० हजार रुपैयाँको एक थान चेकसमेत बरामद गरेको छ ।

यही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो ।

यही अवधिमा काठमाण्डौ उपत्यकामा १४ ठाउँमा आगलागी भएको र त्यसबाट आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागीमा परि भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको ज्यान गएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।

यही अवधिमा भएका गाडी दुर्घटनामा सात जनाको ज्यान गएको थियो र तीन सय ३० जना घाइते भएका थिए । यस्तै झन्डै एक करोड रुपैयाँ बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जना पक्राउ परेका छन् ।


सम्बन्धित खबरहरु