गएराति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएलगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको प्रवक्ता भण्डारीको भनाइ छ। काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धारका लागि ‘स्ट्यान्ड बाई’ राखिएको र घाइतेको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डाक्टरको टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए-०५७ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा तीनजना डाक्टरसहित १६ जना, एनए-०१६०६४ स्काई ट्रकमार्फत काठमाडौंबाट चौरजहारीमा १६ जना, एनए-०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीनजना र एनए-०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।