एनआरएनए विभाजित, आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा

ओकेखबर संवाददाता ५ कार्तिक २०८०, आईतवार ०७:३४ मा प्रकाशित ( महिना अघि) १०८ पाठक संख्या

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावी परिणामबाट असन्तुष्ट पक्षले राजेन्द्र कुमार (आरके)शर्माको नेतृत्वमा छुट्टै (समानान्तर)समिति घोषणा गरेको छ । चुनावबाट विजयी घोषित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा अलग्गै समिति बनाइएको हो । यो समिति नै आधिकारिक भएको दाबी शर्मा पक्षको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गंगाधर गौतम, गोविन्द श्रेष्ठ (रोविन) चयन भएका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । महासचिवमा बुद्धि सागर सुवेदी सर्वसम्मत रूपले चयन भएका हुन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रवीण गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव विमला सापकोटा चयन भएकी छन् । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ । मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ ।

बन्द सत्रले डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द विष्ट, डा. बलराम श्रेष्ठ, ओम शर्मा, वेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको छ । दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, विष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ । बन्द सत्रले महासचिव डा. केशव पौडेल, कोषाध्यक्षहरू सुनिल साह, लोक दाहाल तथा विधान समितिका सचिव गंगाधर गौतमले पेश गरेका प्रतिवेदनहरू पारित गरेको थियो ।

निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले सबै नव निर्वाचित पदाधिकारीहरूलाई विधान बमोजिम शपथ दिलाएका थिए । बन्द सत्रको अध्यक्षता अध्यक्षद्वय कुल आचार्य तथा रविना थापाले गरेका थिए । मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी घोषित पक्षले तोडेको शर्मा पक्षको आरोप छ । सहमति विपरीत शनिबारै शपथ गरिनुले धाँधली भएको पुष्टि हुने उनीहरूको दाबी छ ।


सम्बन्धित खबरहरु