मुखियालाई जगदम्बा–श्री र ओझालाई मदन पुरस्कार प्रदान

ओकेखबर संवाददाता २९ आश्विन २०८०, सोमबार १६:५९ मा प्रकाशित ( महिना अघि) ८४ पाठक संख्या

काठमाडौं । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ ।

पाटनमा आज सोमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरर प्रदान गरिएको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गर्नुभएको छ । पुरस्कारको राशि चाररचार लाख रुपैयाँको रहेको छ ।

कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्रमार्फत साहित्य अनुरागी माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ । ६० वर्षभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय मुखियाले साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गरेका थिए।

त्यस्तै नेपालले बेहोरेको सशस्त्र द्वन्द्वले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई प्रविधि पनि मिसाई नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ । मदन पुरस्कारका लागि तीन सय १३ वटा पुस्तक प्राप्त भएका थिए । मदन पुरस्कार २०१३ र जगदम्बा–श्री २०४५ सालदेखि प्रदान गर्न थालिएको हो ।


सम्बन्धित खबरहरु