आज: 

मतदानस्थलमा खटिए कर्मचारी

ओके खबर २ मंसिर २०७९, शुक्रबार ०८:३४ मा प्रकाशित ( महिना अघि) २०१ पाठक संख्या

काठमाडौं । आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्।

 

विकट हिमाली तथा पहाडी जिल्लामा निर्वाचन सामग्री, तालिम, नियुक्ति सबै प्रक्रिया पूरा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो। सुगम केही जिल्लामा भने बिहीबारदेखि कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा खटाइएका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्री उपलब्ध गराइएको छ। उनीहरूलाई न्यूनतम दुई दिनको तालिम दिइएको छ।

 

जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मातहतका मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ। ७७ वटै जिल्लामा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचनका लागि देशभर २ लाख ४६ हजार कर्मचारी परिचालन गरिएको छ। यसपटक निर्वाचन आयोगले कर्मचारी, कैदीबन्दी, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई समेत समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाएको छ। मतदाता नामावलीमा एकजना मात्र कैदीबन्दीको नाम भए पनि उसका लागि कारागारमा छुट्टै मतदान केन्द्र राखिएको आयोगका कर्मचारीहरूले बताएका छन्।

कैदी बन्दी कारागारबाहिर गएर मतदान गर्ने अवस्था नभएकाले कारागारमै बुथ राखिएको हो। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार सिंहदरबारभित्र र वरिपरिका कर्मचारीहरूले सहज ढंगबाट मतदान गरुन् भन्ने उद्देश्यले बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र राखिएको छ। त्यहाँ नेपाली सेनाका जवानहरूले पनि मतदान गर्ने व्यवस्था मिलाइएको छ। यसैगरी सशस्त्र प्रहरी बल बलम्बुमा सशस्त्र प्रहरीहरूका लागि छुट्टै मतदान केन्द्र राखिएको छ।

– नागरिक दैनिक


सम्बन्धित खबरहरु