आज: 

आम निर्वाचन-२०७९ : कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

ओके खबर २४ श्रावण २०७९, मंगलवार ०८:३६ मा प्रकाशित ( महिना अघि) १०५ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ । प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ ।

असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका रहेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोग स्रोतले जनाएको छ ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उमेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।


सम्बन्धित खबरहरु