प्रहरीले भन्यो- ‘चुनावमा खटिन पनि हतियार अभाव’

ओकेखबर संवाददाता २८ असार २०७९, मंगलवार ०९:०८ मा प्रकाशित ( साल अघि) २९० पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीले हातहतियारको चरम अभाव रहेको स्पष्टीकरण दिएको छ । हातहतियार खरिद गर्न लागेकोबारे स्पष्टीकरण दिँदै प्रहरीले हतियारका अभाव रहेको बताएको हो ।

 

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गर्दै लामो समयदेखि हातहतियार नकिनेकाले अब किन्न लागिएको स्पष्ट पारेका छन् । ‘नेपाल प्रहरीको संगठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्षभन्दा लामो समयदेखि हातहतियार खरिद नभएकाले चरम अभाव झेल्दै आएको वास्तविकता जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

आउँदो मंसिरमा हुने प्रदेश र संघको चुनावका लागि पनि हातहतियार खरिद गर्न आवश्यक भएको प्रहरीले बताएको छ ।

 

प्रहरीले कम घातक हतियारहरू, छोटो दुरीको पेस्तोल, सटगन र ग्यास सेलहरू किन्न लागेको हो । अहिले भएका हतियारहरू पनि खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रिने र मिति समाप्त भएकाहरू रहेको प्रहरीले स्पष्ट पारेको छ ।

 

नेपाल प्रहरीले मुलुकको आर्थिक अवस्था तहसनहस भएको बेला ८४ करोडको हतियार खरिद गर्न लागेको भन्दै सर्वत्र आलोचना भएको थियो ।


सम्बन्धित खबरहरु