सिन्धुली जिल्ला प्रशासन कार्यालयद्वारा १२ घण्टा सेवा

ओकेखबर संवाददाता २८ असार २०७९, मंगलवार ०८:२२ मा प्रकाशित ( साल अघि) ३१५ पाठक संख्या

सिन्धुली । सेवाग्राहीको चाप बढेपछि सिन्धुली जिल्ला प्रशासन कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालेको छ । सिन्धुली जिल्ला प्रशासन कार्यालयले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको हो ।

कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो।

यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ।

बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ।

प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको छ।


सम्बन्धित खबरहरु