चेल्सीको मालिकमाथि बेलायतले लगायो प्रतिबन्ध

ओकेखबर संवाददाता २७ फाल्गुन २०७८, शुक्रबार ०८:३३ मा प्रकाशित ( साल अघि) ५०५ पाठक संख्या

काठमाडौं । बेलायतले चेल्सीका प्रमुख लगानीकर्ता रोमन अब्रामोभिचमाथि प्रतिबन्धको घोषणा गरेको छ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा रुसमाथिको प्रतिबन्ध बढाउने क्रममा अब्रामोभिचमाथि पनि बेलायतले प्रतिबन्ध लगाएको हो।

अब्रामोभिचले यसअघि नै चेल्सीमा रहेको आफ्नो शेयर बेच्ने घोषणा गरेका थिए। रुसी अर्बपतिहरुमाथि विश्वभर प्रतिबन्ध लाग्न सक्ने आशंकामा उनले उक्त घोषणा गरेका थिए।

यद्यपि अब भने उनले चेल्सीमा रहेको आफ्नो शेयर बेच्न नपाउने भएका छन्। बिहीबार बेलायत सरकारले गरेको घोषणासँगै उनको सम्पत्ति जफत भएको छ। बेलायतले अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो समयदेखि निकट सम्बन्ध रहेको दाबी गर्दै आएको छ।

यद्यपि अब्रामोभिचले भने यो दाबी अस्वीकार गर्दै आएका छन्। उनको सबै सम्पत्ति जफत भएसँगै चेल्सीको काम पनि बन्द हुनुपर्ने हो तर सरकारले चेल्सीलाई विशेष लाइन्सेन्सको अनुमति दिएको छ। जसको आधारमा नियमितरुपमा चेल्सीको कामकारबाही चल्नेछ।

त्यसैले यसको असर भने चेल्सीको खेलमा नपर्ने बीबीसीले उल्लेख गरेको छ। यद्यपि क्लबले अब कुनै पनि आर्थिक कारोबार भने गर्न पाउनेछैन।


सम्बन्धित खबरहरु