संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र लोसपाको ह्विप जारी

ओकेखबर संवाददाता १२ फाल्गुन २०७८, बिहीबार ०९:०७ मा प्रकाशित ( साल अघि) १७७ पाठक संख्या

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिएअनुसार कांग्रेसले आफ्ना ६३ मध्ये ५९ सांसदलाई अनिवार्य उपस्थितिका लागि मोबाइलको एसएमएसमार्फत निर्देशन दिएको हो । कांग्रेसका दुई सांसद निलम्बनमा परेका छन् भने दुई जना उपचारका लागि विदेशमा छन् ।

त्यसैगरी सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि एमसीसीको पक्षमा रहेको जनाउँदै संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

संसद्मा लोसपाका १३ जना सांसद छन् । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमसीसी सम्झौता संसद्बाट पारित गर्न कांग्रेस, एमाले, लोसपालगायतका दलहरू सकारात्मक भएपछि माओवादी र एकीकृत समाजवादी पार्टीमाथि दबाब बढेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा अघि बढेपछि कांग्रेसले एमसीसीको पक्षमा उभिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि संवाद गरिरहेको छ ।

काग्रेससँगको छलफलमा एमालले आफ्ना माग पूरा भएपछि मात्र संसद् अवरोध नगर्ने र एमसीसीबारेमा निर्णय लिने बताए पनि एमाले नेतृत्वले एमसीसीको पक्षमा नै वकालत गरिरहेको छ ।


सम्बन्धित खबरहरु