फेरि बढ्यो बर्ड–फ्लु संक्रमण

ओकेखबर संवाददाता १२ फाल्गुन २०७८, बिहीबार ०८:१४ मा प्रकाशित ( साल अघि) ३३३ पाठक संख्या

काठमाडौं । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।

पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना ग र्‍यो ।

कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्ड–फ्लुप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै यदी रोग देखिएमा नलुकाउन आग्रह गरेका थिए ।

नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले विभिन्न ५० स्थानबाट बर्ड–फ्लु परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी दिए ।

पोल्ट्री व्यवसायी सङ्घका सल्लाहकार मधुसुदन गुरागाईले नयाँ–नयाँ रोगले व्यवसायीलाई धरासायी बनाइरहेको अवस्थामा प्रविधिमैत्री भई जैविक–सुरक्षासँगै नयाँ सुरक्षाका रणनीति अपनाउन आग्रह गरे ।

गत हप्ता बनेपा नगरपालिकाले पनि पन्छीमा लाग्ने सङ्क्रामक रोगका विषयमा स्थानीय सरोकारवाला भेला गरी छिमेकी जिल्लासँग जोडिएको आफ्ना नाकामा सुरक्षा–जाँचका विषयमा छलफल गरेको थियो ।

साथै नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेको पन्छीको जाँच गर्ने योजनाअनुसार बर्ड–फ्लु गतिविधि गरिरहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लास्थित उपत्यकाको प्रवेश नाका साँगा र जिल्लाको पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका मङ्गलटारमा केही हप्ताअघि पन्छीको जाँच केन्द्र स्थापना गरिसकेको छ ।

गत माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड–फ्लु सङ्क्रमण त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँमा देखिएको छ ।


सम्बन्धित खबरहरु