अखाद्य बिस्कुट उत्पादन गर्ने कम्पनीमा प्रहरीको छापा

ओकेखबर संवाददाता १० फाल्गुन २०७८, मंगलवार ०९:३१ मा प्रकाशित ( साल अघि) २४६ पाठक संख्या

अखाद्य बिस्कुट उत्पादन गरेकाे पाइएपछि प्रहरीले कम्पनी नै सिल गरेको छ। ललितपुरको सुनाकोठीस्थित श्रीतारा फुड्स एन्ड स्पाइसी प्याकेजिङ प्रालिमा अपराध महाशाखाले सिल गरेको हो।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार यो कम्पनीले तीन वर्ष पुराना, म्याद नाघेका कुकिजबाट पुनः बटर चकलेट, काजु कुकिज बनाई बिक्री गरिरहेकाे पत्ता लागेकाे हाे।

यस्तै सडेगलेका पाउरोटी सुकाएर पुनः कुकिज बिस्कुट, क्रन्ची तथा चिकेन रोस्ट बनाउन प्रयोगमा ल्याएको पाइएको एसपी कोइरालाले बताए।

प्रहरीले सिन्धुपाल्चोकको बाडेगाउँका ४४ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ पनि गरेको छ। गत माघ ६ गते गुणस्तरहीन मह उत्पादन गरेको अभियोगमा महाशाखाले पक्राउ गरेको हाे।

उनले स्पर्श फुड प्रोडक्ट एन्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एन्ड स्पाइसी प्याकेजिङ प्रालिका नाममा खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत नलिई यस्ता कम्पनी सञ्चालन गरेको खुलेको हो। खाद्य तथा गुण नियन्त्रण विभागको रोहबरमा यी दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थ नष्ट गरिएको छ।

भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिनामोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, इस्ट ४५ कार्टुन, सोसा सस ६ कार्टुन, चिउरा ३८ बोरा, चकलेट पाउडर ४० बोरा, टेम्पर २० कार्टुन, एसिड ७ ड्रम, पाउडर ७ कार्टुन लगायतका सामाग्री नष्ट गरिएको छ।                 


सम्बन्धित खबरहरु