दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुल्यो अस्ट्रेलिया

ओकेखबर संवाददाता ९ फाल्गुन २०७८, सोमबार ०९:५४ मा प्रकाशित ( साल अघि) ४८६ पाठक संख्या

काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेश दिने भएको छ । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।

एउटा सरकारी विज्ञप्तिमा भनिएको छ- परिवर्तनहरूले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ । सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ ।

कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो । खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।

मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ । अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन् । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए । -बीबीसी


सम्बन्धित खबरहरु