मलेसियास्थित नेपाली दूतावासले भन्यो, ‘नेपाली कामदार खुलिसकेको छैन’

ओकेखबर संवाददाता १३ कार्तिक २०७८, शनिबार ०८:५२ मा प्रकाशित ( साल अघि) २५३ पाठक संख्या

दोहा । नेपाली कामदारको श्रम गन्तव्य रहेको मलेसियामा नेपाली कामदार खुल्ला भइ नसकेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै नयाँ कामदारले मलेसिया प्रवेश गर्नेबारे मलेसिया सरकारबाट औपचारिक जानकारी नआएको जनाएको छ ।

नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने समाचारहरू सार्वजनिक भएकोमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएका कामदार मलेसिया प्रवेश सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउनबारे आधिकारिक जानकारी नभएको जनाएको छ ।

कोरोना महामारीका कारण रोकिएका तर, भिसाको म्याद भएकाहरूले मात्र मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिन क्वारेनटाइन बस्ने गरी प्रवेश पाउने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कोभिड-१९ प्रभाव रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेसँगै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

मलेसिया सरकारले भने पछिल्लो समय कोरोनाका कारण प्लान्टेशन सेक्टरमा कामदारको अभाव भएको भन्दै अब विदेशी कामदार भर्ना गरिने बताइसकेको छ ।                                   


सम्बन्धित खबरहरु