प्रधान मन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

ओकेखबर संवाददाता १२ कार्तिक २०७८, शुक्रबार ०७:४२ मा प्रकाशित ( साल अघि) १२७ पाठक संख्या

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन् । ग्लासगोमा आउँदो नोभेम्बर १-२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन प्रधान मन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलायत प्रस्थान गर्ने भएको हो ।

प्रधान मन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् । त्यसअघि, अक्टोबर ३० (कात्तिक १३) मा प्रधान मन्त्री देउवा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी-एन) र यूके-नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित भई सम्बोधन गर्नेछन् ।

बेलायतमा रहँदा प्रधान मन्त्री देउवाले बेलायत-नेपाल समाज, गैरआवासीय नेपाली संघ र यूकेमा रहेका नेपालीहरूसँग भेटघाट गर्नेछन् । देउवा अक्टोबर ३१ (कात्तिक १४)मा लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । यस्तै, गोर्खा भेटेरान्स संगठनका सदस्यहरू, बेलायती सांसदहरू र नेपाली डायस्पोराका अरू सदस्यहरूसँग भेटघाट गर्नेछन् ।

प्रधान मन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५)को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा उपस्थित हुनेछन् । नोभेम्बर २ मा बेलायती प्रधान मन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा सहभागी हुनेछन् । नोभेम्बर ३ (कात्तिक १७) मा प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्ने कार्यसूची छ । त्यहाँ उनले उपस्थितहरूलाई सम्बोधन गर्नेछन् । प्रधन मन्त्री देउवाले नेपाली गार्डेनमा बिरुवा रोप्नेछन् ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधान मन्त्री देउवाको साथमा वन तथा वातावरणमन्त्री रामसहाय यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । नेपाली प्रतिनिधिमण्डल नोभेम्बर ३ (कात्तिक १७) मा यूकेबाट फर्कनेछ भने नोभम्बर ४ (कात्तिक १८) मा नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्यान्डको ग्लासगोमा हुँदै छ ।


सम्बन्धित खबरहरु