कांग्रेस महाधिवेशनको मिति परिमार्जन, यी ठाउँमा भयो हेरफेर

ओकेखबर संवाददाता ११ कार्तिक २०७८, बिहीबार २२:४५ मा प्रकाशित ( साल अघि) ९० पाठक संख्या

कांग्रेस महाधिवेशनको मिति परिमार्जन, कहाँ कहाँ भयो हेरफेर
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुने भएको हो ।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।

कात्तिक २१ गतेबाट कार्यतालिका प्रारम्भ हुने निर्वाचन समितिले जनाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । उक्त जिल्लामा अधिवेशनको कार्यतालिका पनि बनाइएको छ ।

वडा अधिवेशन हुन नसकेका १३ जिल्ला मध्ये बाँकी ११ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन र कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ । यस्तै मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

यस्तै हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । पालिका अधिवेशन सम्पन्न भएका बाँकी ६४ वटा जिल्लामा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुने छ ।

यस्तै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर ६ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

हेर्नुहोस् महाधिवेशन कार्यतालिका                                       


सम्बन्धित खबरहरु