सरकारले कति घटायो विद्युत महसुल?, मंसिरदेखि लागू हुने

ओकेखबर संवाददाता ११ कार्तिक २०७८, बिहीबार ०८:५३ मा प्रकाशित ( साल अघि) १६० पाठक संख्या

काठमाडौं। सरकारले विद्युतको महशुल घटाएको छ । विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो ।

विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्दा इनर्जी शुल्क लाग्ने छैन र न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्छ ।

यसैगरि सिंगल फेजबाट विद्युत उपभोग गर्ने १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्नेलाई इनर्जी शुल्क प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यसअघि प्रति युनिट १० रुपैयाँ थियो । ४ सय युनिटभन्दा माथि विद्युत खपत गर्नेलाई इनर्जी शुल्क ११ रुपैयाँ कायम गरिएको जनाइएको छ । यसअघि १२ रुपैयाँ प्रतियुनिट थियो ।

वर्षायाम र हिउँदमा थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क फरक फरक तोकिएको छ । वर्षायाममा मासिक ४ सय युनिटसम्म विद्युत प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा १ रुपैयाँ प्रतियुनिट घटाइएको छ । हिउँदमा भने उत्ति नै महशुल लाग्नेछ । चार सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकका लागि भने हाल कायम रहेको १२ रुपैयाँ प्रति युनटिबाट १ रुपैयाँ ५० पैसा घटाइएको छ । हिउँदमा ५० पैसा घटाइएको छ ।

ट्युवबेल संचालन गर्ने उपभोक्ता तथा सिंचाई उपभोक्ताका लागि भने ४० प्रतिशत महशुल घटाइएको छ । राति ११ देखि विहान ५ बजेसम्मको इनर्जी शुल्क पनि आयोगले घटाएको छ ।

देशमा विद्युतको आपूर्ति बढ्न गई खेर जान थालेपछि विद्युतको मूल्य घटाएर प्रयोगका लागि प्रोत्साहित गर्न यसो गरिएको बुझिएको छ । विगतमा लोडसेडिङ हुने गरेकोमा नेपालमा पछिल्लो समय विद्युत खेर जान थालेको छ ।


सम्बन्धित खबरहरु