एकीकृत समाजवादीमा दलको नेता चयन गर्ने तयारी

ओकेखबर संवाददाता ११ भाद्र २०७८, शुक्रबार १९:३२ मा प्रकाशित ( साल अघि) १५१ पाठक संख्या

काठमाडौं । नेकपा एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादी पार्टीले दलको नेता चयन गर्ने तयारी गरेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले यहि भदौ ९ गते नयाँ दलको वैधानिकता पाएसँगै दलको नेता चयन गर्ने तयारी सुरु भएको हो ।

दलको नेता चयन गर्न आइतबार संसदीय दलको बैठक आह्वान गरिएको छ ।

यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद रहेका छन् ।

तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गर्दै आएका छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सरकारमा जाने घोषणा गरिसकेको छ । सरकारमा जाने मन्त्रीहरुको नामसमेत टुंगो लगाउने पार्टीको तयारी छ ।

यस्तै यो पार्टीले नेकपा माओवादी केन्द्रलगायत दलहरुसँग कार्यगत र पार्टी एकता गरेर अघि बढ्ने तयारीसमेत गरेको छ ।


सम्बन्धित खबरहरु