आज: 

देशभरको मनसुन फेरि सक्रिय

ओके खबर ११ भाद्र २०७८, शुक्रबार ०७:५८ मा प्रकाशित ( महिना अघि) २१ पाठक संख्या

काठमाडौं । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।

यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको मौसमविद्ले बताएका छन् ।

यसैबीच, रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वाग्मती नदीले खतराको तह पार गरेको छ ।

चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगङ्गा, सिन्धुलीमा कोशी र वाग्मती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

मौसमविद्का अनुसार अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना छ।

आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक– दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले छ ।

पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ ।


सम्बन्धित खबरहरु