अर्को हप्तादेखि गाडी लाइसेन्सको ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी

ओकेखबर संवाददाता ४ भाद्र २०७८, शुक्रबार २०:४५ मा प्रकाशित ( साल अघि) १९६ पाठक संख्या

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि परीक्षा संचालजनको तयारी गरिएको विभागले जनाएको छ ।

सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो ।

विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।

विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए ।

सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा त्यसअनुसार मापदण्ड पनि बनाएको भन्दै घिमिरेले स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेको बताए ।


सम्बन्धित खबरहरु