कांग्रेस १४औं महाधिवेशनः नेतृत्वमा चर्को प्रतिस्पर्धा

ओकेखबर संवाददाता ३ श्रावण २०७८, आईतवार १२:१२ मा प्रकाशित ( साल अघि) १२२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन नजिकिंदै जाँदा नेतृत्व लिने प्रतिस्पर्धा पनि चर्को बन्दै गएको छ । कंग्रेसी राजनीतिको विरासत मानिएको कोइराला परिवारमा पनि यो प्रतिस्पर्धा छर्लङ्गै देखिएको छ ।

केन्द्रीय सदस्य सुजाताले शनिबार आफ्नै निवासमा राखेको लन्च मिटिङमा यस्तो दृष्य देखिएको हो । सुजाताले महामन्त्री डा। शशांक र केन्द्रीय सदस्य डा। शेखरलाई आफ्नै निवासमा बोलाएर लन्च मिटिङ गर्दा शशांक र शेखरबीच प्रतिस्पर्धात्मक भावना देखियो । दुवै दाजुभाई पार्टीको नेतृत्व लिन इच्छुक देखिए ।

महामन्त्री शेखरले पार्टीको सभापतिका लागि आफू उपयुक्त उम्मेदवार भएको धारणा राखे । ‘सभापतिका लागि म नै सबल छु । महाधिवेशन जित्नसक्ने व्यक्ति पनि म नै हुँ,’ महामन्त्री कोइरालाले शेखर र सुजातासँग भने, ‘हाम्रो परिवारबाट मलाई अगाडि सारियो भने अरु साथीहरुले सहजै स्वीकार गर्छन् ।’

वीपी पुत्र समेत रहेका महामन्त्री शशांक कोइरालाले सार्वजनिक रुपमै वर्तमान सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने उपयुक्त उम्मेदवार आफू मात्रै भएको दावी गर्दै आएका छन् ।

तीन कोइरालाबीचको छलफलमा पनि महामन्त्री कोइरालाले पार्टी सभापति देउवा प्रधानमन्त्री पनि भएको र पार्टीभित्र राम्रो पकड भएकाले उनलाई हराउन आफू नै उम्मेदवार बन्नुपर्ने तर्क गरेका थिए ।

केन्द्रीय सदस्य शेखर कोइरालाले भने आफूले लामो समयदेखि तयारी गर्दै आएको र तल्लो तहका कार्यकर्तासँग पनि निरन्तर संवादमा रहेकाले सहयोग गर्न भाइ शशांकसँग आग्रह गरे । ‘मैले १३औं महाधिवेशन लगत्तै सभापतिका लागि तयारी अगाडि बढाउँदै आएको छु,’ शेखरले भने, ‘उमेरका हिसावले पनि मेरो यो अन्तिम अवसर हो । बरु हामी टीम बनाएर अगाडि बढौं ।’

करिव दुई घण्टा लामो छलफलमा सभापतिको सर्वसम्मत उम्मेद्वारको निर्णय हुन सकेन । यसको ठिक विपरित शशांक र शेखरले आफूलाई सहयोग गर्न एकअर्कासँग आग्रह गरे ।

तीन कोइरालाबीचको छलफलमा सहभागी एक नेताका अनुसार शशांक र शेखरले सहजै एकअर्कालाई सहयोग गर्ने अवस्था देखिँदैन । ‘सभापतिमा दुबैको दावी रह्यो, अझै छलफललाई निरन्तरता दिने कुरा भएको छ’ ति नेता भन्छन्, ‘दुबैको मनशाय सभापतिमा लड्ने देखिन्छ । सहजै एकअर्कालाई छोड्लान् जस्तो देखिदैन ।’

छलफलमा केन्द्रीय सदस्य सुजाताले भने संस्थापनइतर समूहमा सहमतिमा उम्मेद्वार तय गर्नुपर्नेमा जोड दिइन । उनले तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समेत छलफल गरेर अगाडि बढ्नुपर्ने मत राखिन । ‘रामचन्द्र दाइ, प्रकाशमानजी, सिटौलाजी पनि हुनुहुन्छ, उहाँहरुसँग पनि छलफल गरेर हामी निष्कर्शमा पुग्नुपर्छ,’ सुजाताले भनिन्, ‘जो उठेपनि एक जना मात्रै उठ्नुपर्छ । हामी तीन जनाबीच पनि कुनै मनमुटाव हुनुहुन्न ।’

केन्द्रीय सदस्य सुजाताले १४ असारमा निवासमै गरेको लन्च मिटिङमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई पनि मिलेर महाधिवेशनमा जान आग्रह गरेकी थिइन् ।

छलफलमा केन्द्रीय सदस्य दीपक गिरी र पूर्वराज्यमन्त्री दीपक खड्का पनि सहभागी भएका थिए । छलफलपछि नेता शेखर कोइरालाले पार्टीको आसन्न महाधिवेशन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित खबरहरु