६४ लाख डोज खोप ल्याइँदै, ३२ लाख साउन १५ सम्ममा ल्याइने

ओकेखबर संवाददाता ३ श्रावण २०७८, आईतवार ०८:२५ मा प्रकाशित ( साल अघि) ५४० पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए । शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् । यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।

हालसम्म प्रत्यक्ष अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार र खरीद गरिएको १८ लाख गरी ६५ लाख ८२ हजार डोज खोप आइसकेको छ । नेपालमा भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोपबाट खोप अभियान शुरू गरिएकोमा हालसम्म २७ लाख ६५ हजार ७०९ ले लगाएका छन् ।

भारतले अनुदानमा उपलब्ध गराएको, भारतीय सेनाले नेपाललाई सहयोग गरेको, कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध र नेपालले खरिद गरेकोमध्येबाट हालसम्म २२ लाख ८८ हजारले कोभिशिल्ड र १३ लाख ९७ हजारले चीनबाट ल्याइएको खोप भेरोसेल लगाएका छन् । अमेरिकी सहयोगमा प्राप्त १६ लाख खोप पनि साउन ४ गतेदेखि लगाउन शुरू गरिने मन्त्रालयले बताएको छ । आजको आर्थिक अभियान दैनिकबाट ।


सम्बन्धित खबरहरु