आज: 

जाँदा जाँदै ओलीले भने- ‘सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं’

ओके खबर २९ असार २०७८, मंगलवार १६:१७ मा प्रकाशित ( महिना अघि) ३५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरि खोप आपूर्तिको प्रवन्ध गरिसकिएको बताएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलीयत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए ।

सम्बोधन गर्दै ओलीले भने- ‘खोपको लागि सबै प्रवन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर भरेदेखि पहिलेनै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।’

बालवालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको उनको भनाई छ । भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको उनले बताए ।

त्यस्तै अमेरिकबाट उपहारस्वरुप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए ।

यस्तै आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने ओलीको भनाई छ । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ ।’ ओलीले अघि भने, ‘मानौं, चट गरेर आजै ल्याएका हुन् कि जस्तो गरेर प्रचार गर्नेछन् । तर मलाई प्रचारको कम्पिटिसन गर्नु छैन ।’

असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको बताएका छन् । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गरे ।

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका सन्दर्भमा ओलीले सम्बोधन गरेका हुन् । उनले कोरोना महामारी तथा बाढीपहिराबाट जीवन गुमाएका प्रति श्रद्धाञ्जलि दिँदै सरकारले बिरामी एवं घाइते सबैको निःशुल्क उपचार गराइरहेको तथा पुनःनिर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले देश कोभिड महामारीबाट आक्रान्त भइरहेका बेला कत्ति पनि समय खर्च नगरेर एकताका लागि महामारी रोकथाम र राष्ट्रको विकासका काम गर्नुपर्नेमा मुलुकमा असझदारी र द्वन्द्व सिर्जना गरेर मुलुकलाई असफल बनाउने गम्भीर षड्यन्त्रप्रति सबैको ध्यानाकर्षण गराए । उनले निराश र उत्तेजनामा जान आवश्यक नभए पनि सर्वोच्च अदालतको सोमबारको फैसलको परिणाम र परिणति देखिँदै जाने विचार व्यक्त गरे ।

उनले राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताए । प्रधानमन्त्री ओलीले विगतका राजनीतिक दृष्टान्तका आधारमा पात्र र प्रवृत्तिलाई चिन्न गाह्रो नहुने भएकाले लोकतन्त्र र विधिका शासनमा कुनै दरार त आउने होइन भन्ने प्रश्न खडा भएको टिप्पणी गरे ।

आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उहाँले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने स्पष्ट गरे । “मेरो मनमस्तिष्कमा देशको, सुरक्षा, सार्वभौमसत्ता र स्वाधीनता, विकास, सुशासन, सभ्य समाज, सामाजिक न्यायसहितको समृद्धिबाहेक अर्को कुनै विषय छैन”, प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई सुन्दर र समृद्ध बनाउन लोकतान्त्रिक प्रणाली र त्यसअनुसारको इमान्दार अठोट चाहिन्छ, योबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकारसम्पन्न ठान्छु तर आज म अदालतको आदेशबाट बाहिरिएको छु । मेरो लोकतन्त्रप्रतिको निष्ठा र आशा तथा देश र जनता प्रतिको माया कमजोर हुने छैन ।’


सम्बन्धित खबरहरु