देशका अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन आग्रह

ओकेखबर संवाददाता १७ असार २०७८, बिहीबार १०:४२ मा प्रकाशित ( साल अघि) ३५६ पाठक संख्या

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।
मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीस्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी बर्षा मापन भएको जानकारी दिएको छ ।

मरिन कुसुन्तार, बागमती राइगाउँ, पधेरादोभान लगायतका बाढीमापन केन्द्रहरुमा जलसतह बढ्दो क्रममा रहेको विभागले जानकारी दिएको हो ।

सो जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा आज दिउँसोसम्मै उच्च जोखिम रहेकाले सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ ।

त्यस्तै तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । चुदी खोला लगायत सो क्षेत्रमा स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी बाराको कलैया वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

पसाह, फेटा लगायत नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


सम्बन्धित खबरहरु