बाढी र पहिरोले देशभर कहाँ के-के भयो ? (विवरणसहित)

ओकेखबर संवाददाता २ असार २०७८, बुधबार १८:१३ मा प्रकाशित ( साल अघि) ११९२ पाठक संख्या

काठमाडाैं । देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन् भने गोरखामा एक जनालाई खोलाले बगाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलकाअनुसार हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन्।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पुर्‍याएको छ। बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

यसैगरी लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।

स्थानीय क्षितिज लामाका अनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको छ ।

मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ । बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए।

बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय जना मानिस विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको पहिरोले ठाउँ-ठाउँमा सडक अवरूद्ध भएको छ।

अहिले पर्वत- बाग्लुङ- बेशीसहर- मनाङ- बुटवल- तानसेन- गोरुसिंङे- सन्धिखर्क सडक खण्डमा पहिरो खसेको छ । त्यस्तै सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने साँफे-मार्तडी सडकमा ठाउँ-ठाउँमा पहिरो खसेको छ, त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पहिरोले बाटो रोकेको छ।

पूर्व पश्चिम राजमार्गको देवदहमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको छ । बाढी-पहिरोको बितन्डाले पीडित भएका नागरिकलाई सरकारले राहत दिने भएको छ।

मनाङमा विस्थापित भएका पाँच सय बढीलाई सेनाको हेलिकप्टरबाट त्रिपाललगायत सामान पठाउन लागिएको छ ।

पछिल्लो २४ घन्टामा देशभरि सबैभन्दा धेरै पानी पोखरामा ११० मिलिमिटर परेको छ भने भैरहवामा ८२, धनगढीमा ५२, घोराहीमा ५० मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।


सम्बन्धित खबरहरु