किन गर्छन् विदेशमा बारम्बार आत्म’ह’त्या ?

उपेन्द्र ढुङ्गाना १२ जेष्ठ २०७८, बुधबार २२:२३ मा प्रकाशित ( साल अघि) ५०१ पाठक संख्या

झण्डै ६:३० घण्टाको हवाइ उडान पश्चात लगभग ४ हजार किलोमिटरको दुरि पार गर्दै नेपालबाट एक्लै संघर्षको मैदानमा होमिने दृढताका साथ आफन्तलाई बिदाइका हात हल्लाउंदै बिरानो भुमिमा आफ्नो पाइला टेक्ने र परिवारको सपना देख्ने मान्छे त्यति कमजोर त पक्कैपनी हुंदैन तरपनी किन कोरियामा बारम्बार आत्महत्या गर्न पुग्छन नेपाली ?
१. श्रीमती वा गर्लफ्रेण्डले धोका दिइन ?
आफ्नो मान्छेले छोडेर जांदैन , जसले छोडेर जान्छ उ आफ्नो हुंदैन । उसोभय जो आफ्नो हैन उसको लागि तपाईं किन आफ्नो ज्यान दिनुहुन्छ ?

 

२. बाबुआमाले गाली गर्नुभो ?
जसले तपाइंलाइ यो संसारमा ल्याउनुभो , हुर्काउनुभो , बचाउनुभो उहांहरुसंग तपाइंलाइ गाली गर्ने पूरा हक छ । यो नभुल्नुस्की बाबुआमाको गालिमापनी आशीर्वाद लुकेको हुन्छ । तपाईं जब सानोमा औषधि खान मान्नुहुन्थेन त्यतिबेलापनी गाली गर्नुभयो , तपाईं जब सानोमा स्कुल जान मान्नुभयन त्यतिबेलापनी गाली गर्नुभो , तपाईं जब अल्लारेमा कुलतमा फस्न थाल्नुभो त्यतिबेलापनी गाली गर्नुभो । त्यही बाबुआमाको गालिनै थियो जसले गर्दा आजसम्म तपाईं जिबित हुनुभो , शिक्षित हुनुभो र आफ्नै खुट्टामा उभिन सक्नुभो । उहांहरु गाली गर्नुहुन्छ तपाइंकै सुन्दर भबिष्य निर्माणको लागि गर्नुहुन्छ ।

 

३. साहुले गाली /दुर्व्यवहार गर्‍यो ?
तपाईं नेपालमा खानै नपायर बिदेश आउनुभयको पक्कै हैन । कोरियाको हकमा भन्ने हो भने मात्र 3 महिना काम गरेपनि आउंदा लागेको खर्च कटायर नेपालसम्म पुग्ने पैसा मज्जाले बचाउनुहुन्छ त्यसैले यदि कम्पनिमा केही नराम्रो व्यवहार हो भने शुरुमा कम्पनी परिबर्तन गर्नुस उस्तै परे नेपालनै गैदिनुस बरु । अहिलेपनी तपाइंलाइ तपाइंको परिवारले पर्खिरहेकोछ । तपाइंको घरको ढोकाले तपाईं खाली हातनै फर्केपनी स्वागत गरिरहेको हुन्छ ।

 

४. संगैको साथिले नराम्रो व्यवहार गर्‍यो ? हेप्यो ?
त्यसो हो भने हेपाइ सहेर किन मर्नुहुन्छ ? मर्नु अगाडि प्रतिकार किन नगर्ने ? कम्पनी परिबर्तन गर्नुस , साहुसंग कुरा राख्नुस , सम्बन्धित निकायमा उजुरी गर्नुस । कानुनी रुपमा नमिले गैरकानुनी भयर काम गर्नुस । बेक्कार अर्काको कारण तपाईं आफू किन मर्ने ?

 

५. ऋण तिर्न नसकेर मर्ने बिचार आयो ?
यो नभुल्नुसकी तपाईं मरेपनी तपाइंको ऋण छोरानातिले तिर्नैपर्छ । तपाईं मर्दैमा तपाइंको ऋण मिनाहा हुंदैन । अब सोच्नुस के तपाईं आफुले गरेको ऋणको भारी छोरानातिको थाप्लोमा सुम्पेर आफुचाहिं कायरताको बाटो रोज्नुहुन्छ ? बांच्नुस , मेहेनत गर्नुस । जिन्दगिको अर्को नामनै संघर्ष हो ।

 

६. डिप्रेशनमा जानुभो ?
योचाहिं अलि जटिल समस्या हो तर कतिपयले शुरुवाती चरणमै आफैले डिप्रेशनको महशुस गर्न सक्छन । यदि शंका लागेमा मनोचिकित्सकको परामर्श लिनुहोला । यस्तो ब्यक्तिको कम्पनिमा साथिभाइहरुपनी छन भने कृपया यसमा उहांहरुलेपनी ठूलो भुमिका निर्बाह गर्न सक्नुहुन्छ त्यसैले समस्या बुझेर त्यसै अनुरुप व्यवहार गरिदिनुहोला र जाने बुझेसम्मको परामर्श दिनुहोला ।

आत्महत्या कहिल्यै समाधान हुंदैन । मर्नेले उन्मुक्ती पाउला तर बांच्नेले त्यसको पीडा सदा झेलिरहनुपर्छ । आत्महत्या गर्नेलाइ परिवारले श्रद्दान्जलित देलान तर माफी कदापी दिंदैनन । किनकी मान्छे त्यस्तो प्राणी हो जसको जिबनसंग अरु कैयौंको जिबनपनी जोडियको हुन्छ त्यसैले हिम्मत नहार्नुस ।

अरुको लागि सक्नुहुन्न भने आफ्नो लागि बांच्नुस , आफ्नो लागि सक्नुहुन्न भने अरुको लागि बांच्नुस तर आत्महत्याचाहिं कदापी नगर्नुस ।

लेखक उपेन्द्र ढुङ्गाना काेरियामा कार्यरत हुनुहुन्छ ।


सम्बन्धित खबरहरु