अक्सिजन उत्पादन बढाउन छुट्टै फिडर जडान

ओकेखबर संवाददाता ३ जेष्ठ २०७८, सोमबार ०९:११ मा प्रकाशित ( साल अघि) ३६४ पाठक संख्या

बाँके । पटकपटक विद्युत् आउने जाने समस्याले प्रभावित भएको बाँकेको एक अक्सिजन उद्योगमा छुट्टै नयाँ फिडर जडान गरिएको छ ।

उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन जडान गरिएको नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लखनलाल मल्लिकले नेपालगञ्जको परासपुरस्थित एचओ अक्सिजन उद्योगमा समस्या नहोस् भन्ने उद्देश्यले नयाँ फिडर जडान गरिएकाले अब सो उद्योगमा चौबिसै घण्टा विद्युत् रहने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँके प्रहरी प्रमुख ओमबहादुर राना, नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापा र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको पहलमा छुट्टै नयाँ फिडर जडान गरिएको मल्लिकले बताए ।

उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन जडान गरिएपछि अक्सिजन उत्पादन बढेको एचओ अक्सिजन उद्योगका सञ्चालक महेश कुर्मीले बताए। उनले प्रशासनले समयमै फिडर जडान गराएकाले अक्सिजन उत्पादन बढेकाले अभाव नहुने जानकारी दिए।

विद्युत् समस्या समाधान भएपछि दैनिक एक हजार सिलिन्डर उत्पादन गर्न थालिएको सञ्चालक कुर्मीले बताउनुभयो । यसअघि सो उद्योगमा दैनिक छ सयदेखि आठ सय सिलिन्डरसम्म मात्रै उत्पादन हुँदै आएको थियो । नेपालगञ्जमा दुई अक्सिजन उद्योग रहेका छन् । परासपुरमा रहेको एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सूर्य शक्ति अक्सिजन उद्योग सञ्चालनमा छ तर यी दुवै उद्योगका अधिकांश सिलिन्डर अझै पनि बजारमा रहेकाले सिलिन्डरको भने अभाव रहेको दुवै उद्योगले जनाएका छन् ।

-गाेरखापत्र


सम्बन्धित खबरहरु