महिलालाई दर्शन गर्न प्रतिबन्ध लगाइएको मन्दिरमा उप-प्रमुख पुगेपछि…

बाबुराम श्रेष्ठ २३ बैशाख २०७८, बिहीबार १२:५७ मा प्रकाशित ( साल अघि) १०२९ पाठक संख्या

धादिङ।धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित ढोलामा रहेको ढोला मण्डलीमाईको मन्दिरमा महिलालाई दर्शन गर्न रोक लगाएको छ ।

मण्डली थानको पूर्वाधार निमार्णको अवलोकन गर्ने क्रममा बैशाख २१ गते ज्वालामुखी गाउँपालिकाको उप–प्रमुख जानुका सिंखडा मण्डली थान पुग्नु भएको हो । उक्त परम्परालाई गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडाले तोड्दै पहिलोपटक मन्दिर परिसरभित्र प्रवेश गरकी हुन् । उक्त मन्दिरमा महिला प्रवेश गरेको खण्डमा अनिष्ट हुने भन्दै महिलालाई जान रोक लगाएता पनि सिंखडाले उक्त परम्परालाई तोडेकी छिन् । सिंखडाले मन्दिरमा प्रवेश गरे लगत्तै सामाजिक संजालमा चर्को आलोचना र टिकाटिप्पणी समेत भएको छ ।

मन्दिरमा पुजा आजा गर्न र प्रसाद ग्रहणमा महिलालाई जान रोक लगाएको छ, किन गयो गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडा भनी आलोचना भएको छ । उक्त मन्दिरमा हरेक मंगलबार पाठीको बलि दिईने पुजा आजा र प्रसाद ग्रहणका लागि पुरुष मात्रै जाने प्रचलन रहेको छ । सिंखडाले फेसबुक स्टाटस लेख्दै ज्वालामुखी गाउपालीका वडा नं ४ मा अबस्थित ढोल मण्डली मन्दिरमा पहिलो चोटी पुगे जुन मन्दिरमा बाख्राको पाठीको भोग गरिन्छ तर महिलाहरुलाई प्रवेशमा रोक छ, ‘म त पुगे दिदी बैनीहरु तपाईहरु पनि पुगेर हेर्नू’ भनेर मन्दिर पुगेको जानकारी दिनु भएको थियोे ।

ढोला मण्डली बारे जनाकारी

ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । स्थानीय वृद्ध मानिसहरूको भनाइ अनुसार मण्डली माईको उत्पति भएको समय लगभग १७५० सालतिर हो ।

किम्बदन्तीअनुसार सयौँ वर्षपहिले एकजना मगर जातिका मानिस हलो काट्न मण्डली मन्दिरको वनमा पुगेका थिए । २०४० साल ताका ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो । रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो । रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो । अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे । त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ ।

त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ । हरेक हप्ताको मंगलबार सयौँ पाठीलाई बली चढाइने मन्दिरमा महिला प्रवेश गरे अकल्पनीय घटना हुने मान्यता रहेको छ । पुजा गरेपछि भक्तजनहरूले टीका लगाउन नहुने र प्रसाद घर लैजान नमिल्ने मान्यताले स्थानीय वनमा बनाएर खाने गर्दछन् । स्थानीयबासीले मन्दिरको जंगलबाट काठपातलगायत सामाग्री लगे सो घरको परिवारमा संकट पर्ने मान्यता रहेको छ ।


सम्बन्धित खबरहरु