सञ्चार संस्थालाई उद्योगमा समेटेर सहुलियत ऋण उपलब्ध गराउन माग

ओकेखबर संवाददाता २३ बैशाख २०७८, बिहीबार ०८:५२ मा प्रकाशित ( साल अघि) १९४ पाठक संख्या

हेटौंडा । नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिले सञ्चार माध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र सञ्चालित सञ्चार माध्यमलाई उद्योगमा समेटेर अन्य उद्योग सरह ऋण, सहुलियत लगायतका सहयोग प्रदान गर्न माग गरेको हो । त्यसभित्र पनि साना र स्वरोजगार मूलक लगानीका सञ्चार माध्यमले प्राथमिकता पाउनुपर्ने महासंघले माग गरेको छ ।

महासंघका अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल समक्ष प्रस्ताव पत्र बुझाउँदै अन्य उद्योगलाई जस्तै सञ्चार उद्योगलाई पनि समान व्यवहार गरी राज्यबाट पाउने ऋण लागयतका सहुलियत प्रदान गर्न माग गरिएको हो । अध्यक्ष देवकोटाले हाल प्रदेश भित्र सयौं साना लगानीका मिडियामा करोडौं लगानी भए पनि दीर्घकाल संचालन गर्न सक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायीमा पर्दै आएको मन्त्रीद्वय समक्ष जानकारी गराए ।

साना लगानीका सञ्चारमाध्यमलाई आवश्यक सामाग्री खरिदका लागि सहुलियतपूर्ण ऋण प्रवाहका योजना अघि सार्नुपर्ने महासंघले माग गरेको छ । महासंघले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनवृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्ताव पत्र पेश गरेको महासचिव कृष्ण सारु मगरले बताए ।

प्रस्ताव पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले सञ्चारमाध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताए । उनले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनलाई प्राथमिकतामा राख्न आफु तयार रहेको बताए ।

यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ । महासंघका अध्यक्ष देवकोटाले मन्त्री बस्नेतसमक्ष प्रस्ताव पत्र पेश गर्दै मन्त्रालयले तत्काल पहिलो डोज कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग गरेका छन् ।


सम्बन्धित खबरहरु