आज: 

नीलकण्ठ नगरपालिकाले कक्षा ८ को परीक्षा नरोक्ने, सिसिएमसीको निर्णयलाई ठाडो अवज्ञा

बाबुराम श्रेष्ठ १४ बैशाख २०७८, मंगलवार १२:०५ मा प्रकाशित ( हफ्ता अघि) ३३५ पाठक संख्या

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसि)को निर्णयलाई अटेर गर्दै कक्षा ८ को परीक्षा सञ्चालन गर्न लागेको छ । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमको समयमा नगरपालिकाले एक सूचना जारी गरी शैक्षिक सत्र २०७७ अन्तर्गत कक्षा ८ को परीक्षा तोकिएकै समयमा हुने जनाएको हो ।


आइतबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा अर्को सूचना जारी नभए सम्म स्थगित गरेको थियो । बैठकले विद्यालय क्याम्पसका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धात्मक आदेश जारी गर्दा चालु परीक्षा नरोक्ने निर्णय गरेको थियो ।


वैशाख १५ देखि २३ गते सम्म सञ्चालन हुने भनिएको कक्षा ८ को परीक्षा नगरपालिकाले सञ्चालन गर्ने तयारी गरिरहँदा अभिभावकहरुले भने चिन्तित बनेका छन् । नीलकण्ठ नगरपालिक वडा नम्बर १२ का रामबहादुर राउत सरकारको निर्णयलाई लत्याउँदै जबरजस्त परीक्षा सञ्चालन गर्न लागेको गुनासो गर्छन् । ‘पहिले स्वास्थ्यलाई ध्यान दियौं, स्वास्थ्य ठिक छ भने मात्र अन्य काम गर्न अगाडि बढ्न सक्छ, जब स्वास्थ्य नै ठिक छैन् भने विद्यार्थीको भविष्य रहन्छ त?  नीलकण्ठ नगरपालिका विद्यार्थीको भविष्यमाथी खेलवाड गर्न उद्यत बनेको छ ।’ राउतले भने ।


पशुपति माध्यमिक विद्यालयमा २० वर्ष प्रधानाध्यापक रहेका मोहन बहादुर कंडेल पहिलो प्राथमिकता नगरपालिकाले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताउँछन्। नगरपालिकाले परीक्षा लिने तयारी गर्नुको साटो विद्यार्थीहरुको स्वास्थ्य कसरी ठिक ठाउँमा ल्याउने भन्ने विषयमा जानकारी लिई निर्णय गर्न अति आवश्यक रहेको शिक्षक कंडेलको भनाइ छ ।

यता सूचना जारी गर्दै परीक्षा सञ्चालन गर्न लागिपरेका नीलकण्ठ नगरपालिका धादिङका सूचना अधिकारी एवं शिक्षा शाखा अधिकृत तुलबहादुर महतले भने नगरभित्रका संस्थागत र सामुदायिक गरी कुल ४६ वटा विद्यालयहरुमा कक्षा ८ को जिल्ला स्तरीय परीक्षा गर्ने बताए । उनले भने ‘४६ वटै विद्यालयहरुमा परीक्षाको तयारी अन्तिम अबस्थामा पुगिसकेको छ, स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा गर्ने तयारीमा जुटेका छौं । कक्षा ८ को परीक्षा पश्चात नेपाल प्रहरी, सैनिक सेवा लगायत इन्डियन आर्मीमा भरर्ती हुन जाने विद्यार्थीहरुलाई सहज हुनेछ, तसर्थ परीक्षाको विषयमा सबै विद्यालयका प्र.अ.हरुको बैठकबाट नै परीक्षा सञ्चालन गर्न सकिने बताएपछि हामीले यो निर्णय गरेका हौं ।’

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले भने दिउँसो सिसिएमसीको बैठकमा कक्षा ८ को परीक्षा गर्ने विषयमा छलफल गर्ने बताउँदै आफ्नो एकल निर्णयले परीक्षा रोक्न नसक्ने भनी पन्छिएका छन् ।
पछिल्लो समयमा धादिङमा कोरोना संक्रमितको संख्या १६५१ जना पुगिसकेका छन् । यस्तै धादिङको नेत्रवती डब्जोङ गाउँपालिकामा ५७ जनाको पसिआर परीक्षण गर्दा १५ जना बालबालिकाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो


सम्बन्धित खबरहरु