आज: 

बाँकेमा डाक्टरसहित कर्मचारीमा काेराेना देखिएपछि अस्पताल बन्द, ह्वात्तै बढ्यो मृत्युदर

ओके खबर १२ बैशाख २०७८, आईतवार ०९:४४ मा प्रकाशित ( हफ्ता अघि) ४७७ पाठक संख्या

बाँके । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।

अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ। बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्युदर पनि ह्वात्तै बढेको छ । शनिबार राती र आइतबार बिहान गरेर उपचाररत थप दुई संक्रमित महिलाको ज्यान गएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ बर्षीया कोरोना संक्रमित महिलाको शनिबार राती १०ः३० बजे ज्यान गएको छ ।

गत बैशाख १ गते कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा शनिबार राती उनको ज्यान गएको ओलीले जानकारी दिए ।

त्यसैगरी, कोहलपुर नगरपालिका वडा नम्बर १० की ३६ बर्षीया संक्रमित महिलाको उपचारका क्रममा आज बिहान ज्यान गएको छ ।

फोकल पर्सन ओलीका अनुसार मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरी उपचार थालिएको थियो । उपचारकै क्रममा आज बिहान २ः३० बजे उनको ज्यान गएको हो ।

योसङ्गै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।


सम्बन्धित खबरहरु