देशभर कोरोनाका १४ हजार ७२४ सक्रिय संक्रमित, ५७ जना भेन्टिलेटरमा

ओकेखबर संवाददाता १० बैशाख २०७८, शुक्रबार २१:३८ मा प्रकाशित ( साल अघि) ६८० पाठक संख्या

देशभर १४ हजारभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो मन्त्रालयले जारी गरेको कोभिड-१९ सम्बन्धी बुलेटिनमा देशभर १४ हजार ७२४ जना सक्रिय संक्रमित रहेको उल्लेख छ ।

मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये १३ हजार ५ ७८ जना होम आइसोलेसनमा रहेका छन् । १ हजार १४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १७३ जनालाई आईसीयू र ५७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

आज ९ हजार ६६४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५५९ कोरोना संक्रमित थपिएका छन् । आज ८ हजार ७९८ जनाको पीसीआर गर्दा १ हजार २३ महिला र १ हजार ४२६ पुरुष गरी २ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको छ । नेपाल प्रवेश नाकामा ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा ११० जनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

‍काठमाडौं, ललितपुर, पर्सा, बाँके र रूपन्देहीमा ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज गरिएको पीसीआर परीक्षणमा १२.३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज ०-९ वर्षसम्मका ५४, १०-१९ वर्षसम्मका १९९, २०-२९ वर्षसम्मका ६४५, ३०-३९ वर्षसम्मका ५९३, ४०-४९ वर्षसम्मका ४६३, ५०-५९ वर्षसम्मका २६८,६०-६९ वर्षसम्मका १४३, ७०-७९ वर्षसम्मका ५५, ८०-८९ वर्षसम्मका १५, ९०-१०० वर्षसम्मका ४ र उमेर नखुलेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ४१० संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । निको हुनेदर ९३.९ प्रतिशत रहेको छ ।


सम्बन्धित खबरहरु