संक्रमण तीव्ररुपमा फैलिन थालेपछि सीसीएमसीले भन्‍यो – कडा कदम चाल्‍नुपर्ने हुनसक्छ

ओकेखबर संवाददाता २८ चैत्र २०७७, शनिबार २०:१३ मा प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि सरकारले पनि सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३३७ कोरोना भाइरस संक्रमित थपिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिनसक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको हो ।

सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड–१९ संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए ।

यस्तै, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरिएको छ । सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।


सम्बन्धित खबरहरु