आज राष्ट्रपतिले मेलम्ची खानेपानीको उद्घाटन गर्दै

ओकेखबर संवाददाता २० चैत्र २०७७, शुक्रबार ०८:०७ मा प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको आज औपचारिक उद्घाटन गर्ने भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो ।

भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको छ । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ । राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको छ। काठमाडौं उपत्यका केही स्थानमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण थालिसकिएको छ ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।


सम्बन्धित खबरहरु