वायुप्रदुषण असर: आजदेखि २० गतेसम्म ‍शिक्षण संस्था बन्द

ओकेखबर संवाददाता १७ चैत्र २०७७, मंगलवार ०७:२७ मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

काठमाडौं । पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शिक्षण संस्था चार दिनका लागि बन्द हुने भएका छन् । जनस्वास्थ्यमा असर गर्ने वायु प्रदूषणको मात्रा बढिरहेकाले आउजाउ र भीडभाड कम गर्ने उद्देश्यले शिक्षण संस्थाहरु बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्यमा जोखिम बढ्दै गएको मन्त्रालयको ठम्याइ छ । सो बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताउनु भएको छ ।

बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा। सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा। हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल उपस्थित हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्यालय बन्दका लागि परामर्शसमेत गरिसकेको बताउनु भएको छ ।

सोमबारको बैठकको निर्णयअनुसार आज मंगलबार चैत १७ गतेदेखि २० गते शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गरिने भएको हो ।


सम्बन्धित खबरहरु