नेपालले उचाल्‍यो थ्री नेसन्स कपको उपाधि

ओकेखबर संवाददाता १६ चैत्र २०७७, सोमबार २१:४१ मा प्रकाशित ( साल अघि) ५२७ पाठक संख्या

काठमाडाैं । नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए ।

१८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

खेलको ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो ।

यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको छ । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो ।

बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो ।२


सम्बन्धित खबरहरु