आज: 

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

ओके खबर १६ चैत्र २०७७, सोमबार ०९:४८ मा प्रकाशित ( हफ्ता अघि) १२३ पाठक संख्या

लन्डन । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ ।

ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन्छ । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ । स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन छन् ।

धादिङको विकट रुबी भ्याली, गङ्गाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउँपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवालाबीच छलफल भएको छ ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित उक्त छलफल कार्यक्रममा ट्रष्टका निर्देशक र सहनिर्देशक, धादिङका सांसद खेम लोहनी, प्रदेशसभा सदस्य जगत्बहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस र मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा भरत सिम्खडा, डा इन्दिरा रेग्मीलगायतको सहभागिता थियो ।

एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर कार्ययोजनासहित यथाशक्य सेवा शुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताए । सम्बन्धित क्षेत्रमा विद्युत्, मोबाइल, कम्प्युटर, इन्टरनेटलगायतका आवश्यक आधारभूत पूर्वाधारहरु तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कार्यक्रममा सांसद तथा प्रदेशसभा सदस्यले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो । धादिङको उत्तरी भेगका अन्य गाउँपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरुले लिने बताए ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा आठ वर्षदेखि सञ्चालनमा छ । नेपालका अरु केही ठाउँमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ ।


सम्बन्धित खबरहरु